
दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने भएको छ। बुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी २०८३ जेठ १ र २ गते यो कार्यक्रम सञ्चालन हुने जानकारी दिइएको हो।
नेपाली सेफ सोसाइटी, इन्टरनेशनल सेफ सोसाइटी र युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा यो महोत्सव हुन लागेको हो। “नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय पर्यटनलाई समेत टेवा पुर्याउने लक्ष्य राखेको छ।
पत्रकार सम्मेलनमा बोल्दै इन्टरनेशनल सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन यो महोत्सव कोसेढुङ्गा सावित हुने बताए। दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न परिकारका स्टलहरू राखिनुका साथै उत्कृष्ट सेफहरूलाई पुरस्कृत गरिने महासचिव दीपक कार्कीले जानकारी दिए। यस विशेष अवसरका लागि विश्वका विभिन्न देशमा रहेका नेपाली सेफहरू दमक आउने क्रम सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय सेफहरूको समेत सहभागिता रहने आयोजकले जनाएका छन्।

























