
काठमाडौं। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिट निवेदनमाथि आज (बिहीबार) सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मीको इजलासमा यी रिटहरूको प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ।
अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिवराज बरालले महान्यायाधिवक्ताको योग्यता नपुगेको दाबी गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्। यसअघि अधिवक्ता बस्नेतले पेस गरेको रिटलाई सर्वोच्च प्रशासनले दरपिठ (दर्ता गर्न अस्वीकार) गरे पनि पुनः सोही विषयमा नयाँ रिटहरू दर्ता भएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गत चैत २२ गते नियुक्त हुनुभएका डा. कँडेलको नियुक्ति नेपालको संविधानको धारा १५७ (३) र १२९ (५) बमोजिम नरहेको निवेदकहरूको दाबी छ। संविधान अनुसार महान्यायाधिवक्ता हुनका लागि सर्वोच्च अदालतको न्यायाधीश हुन सक्ने योग्यता (कम्तीमा १५ वर्ष निरन्तर वकालत वा न्याय/कानुनको क्षेत्रमा काम गरेको) आवश्यक पर्छ। तर, डा. कँडेल लामो समय बेलायतमा बसेको र उनीसँग आवश्यक १५ वर्षको निरन्तर कानुनी अनुभव नरहेको रिटमा उल्लेख गरिएको छ।
निवेदकहरूले चैत २२ गते गरिएको नियुक्ति र शपथलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्। साथै, मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल डा. कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेश समेत माग गरिएको छ।

























