
काठमाडौं । सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरेको भन्दै त्यसको विरोधमा राजधानीको नेपाल ल क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
बिहीबार उनीहरूले प्रदर्शनीमार्ग र रामशाहपथ क्षेत्रमा मार्चपास गर्दै सरकारको सम्भावित कदमप्रति कडा आपत्ति जनाएका हुन्।
विश्वविद्यालयहरूमा राजनीतिक दल निकट विद्यार्थी सङ्गठनहरूको गतिविधि रोक्ने र सङ्गठन नै खारेज गर्ने सरकारको आन्तरिक तयारीको सूचना बाहिरिएसँगै केही दिनदेखि विद्यार्थीहरू आन्दोलित भएका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विद्यार्थी सङ्गठनहरूको खारेजीले लोकतन्त्र र राजनीतिक अधिकारमाथि प्रहार हुने दाबी गरेका छन्।
सडकमा ओर्लिएका विद्यार्थीहरूले सरकारले विद्यार्थी सङ्गठन खारेज गरेर शैक्षिक संस्थामा अधिनायकवाद लाद्न खोजेको आरोप लगाए। केही दिनअघि एमाले सचिव महेश बस्नेतले पनि सरकारको यो कदमको विरोध गर्दै विद्यार्थी सङ्गठन खारेजीको प्रयासलाई अधिनायकवादको संज्ञा दिएका थिए।
सरकारले भने विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्न यस्तो योजना बनाएको बुझिएको छ। आन्दोलनका कारण रामशाहपथ क्षेत्रको यातायात केही समय प्रभावित भएको थियो।

























