
काठमाडौं। सरकारले विभिन्न सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको अध्ययन गर्न एक विशेष कार्यदल गठन गरेको छ।
बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो।
सरकारी कार्यालयहरूमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले यो कार्यदल बनाइएको हो। कार्यदलले सरकारी निकायमा रहेका सफ्टवेयरहरूको अवस्था, तिनको सुरक्षा संवेदनशीलता र कार्यक्षमताका बारेमा विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।
पछिल्लो समय सरकारी तथ्याङ्कहरूको सुरक्षा र डिजिटल प्रणालीमा देखिने गरेका समस्याहरूलाई सम्बोधन गर्न यो कदम चालिएको बुझिएको छ।

























