
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ ।
संघीय सरकारको नेतृत्वमा बालेन शाह आएपछि स्थानीय तहहरुले अतिक्रमण हटाउन सुरु गरेका थिए । विराटनगर महानगरपालिकाले शुक्रबार बिहानबाट बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।
यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो । शुक्रबार उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रमा खटिएकाे थियाे ।
महानगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह गरेको छ । सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान राख्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न निषेध गरेको छ ।
विराटनगर महानगरपालिकाले यसअघि पनि फुटपाथको अतिक्रमण हटाएको थियो । तर, अनुगमन नियमित नहुँदा व्यापारीहरुले फुटपाथमा व्यापारका सामग्री राखेका थिए । महानगरपालिकाले अब अटेर गरे फुटपाथमा राखिएका सामग्री जफथ गर्ने चेतावनी दिएको छ ।





























