
काठमाडौं । तीन दिन तातो हावा चल्ने जोखिम देखिएपछि मौसम विभागले ६ वटा जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ । तातो लहर सम्बन्धी विशेष बुलेटिन– २ जारी गरेर कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेतमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागले डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासीमा सतर्क रहन आग्रह गरेको छ ।
विगत केही दिनदेखि मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको अवस्था देखिएको छ ।
आउँदो साताको सुरुबाट मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा वर्षाको गतिविधि हुने देखिएकाले तापक्रममा सामान्य गिरावट आउने विभागले जनाएको छ ।



















