
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट तस्करीको सामान भित्र्याउन लागेको समूहलाई पक्राउ गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । शुक्रबार मध्यरातमा कोशी गाउँपालिका-१ लौकहीस्थित पुरी टोलमा भएको उक्त झडपमा दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका छन्।
सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख उपरीक्षक श्याम कार्कीका अनुसार भारतबाट मोटरसाइकलमा सामान तस्करी भइरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोस्ट (बीओपी) बाट खटिएको टोलीले तस्करलाई रोक्न खोज्दा तनाव उत्पन्न भएको थियो । सुरक्षाकर्मीले दुई जना तस्करलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले गाउँलेलाई गुहारेका थिए । त्यसलगत्तै भेला भएका २५ देखि ३० जनाको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको बताइएको छ ।
मध्यरात करिब १ बजेबाट सुरु भएको झडप बिहान ३ बजे मात्र साम्य भएको थियो । तस्करको समूहले नियोजित रूपमा गाउँलेलाई परिचालन गरी आक्रमण गराएको प्रहरीको दाबी छ । ढुङ्गामुढाबाट घाइते भएका दुई सुरक्षाकर्मीको अवस्था हाल सामान्य रहेको र उनीहरूको उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काले घटनामा संलग्न कोही पनि तत्काल पक्राउ नपरेको तर तीन जनाको पहिचान भइसकेको जानकारी दिए । पहिचान भएका व्यक्तिहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउन जाहेरी आउने क्रममा रहेको उनले बताए । प्रहरीले घटनाका क्रममा कुनै पनि गोली नचलेको प्रष्ट पारेको छ ।
भारतीय सीमासँग जोडिएको यस क्षेत्रमा अवैध सामान ओसारपसार नियन्त्रण गर्ने क्रममा समय-समयमा सुरक्षाकर्मी र तस्कर समूहबीच दोहोरो झडप हुने गरेको छ । केही महिनाअघि पनि सोही स्थानमा तस्करीकै विषयलाई लिएर भएको विवादमा एक जनाको मृत्यु भएको थियो । सुरक्षाकर्मीले अहिले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
























