
काठमाडौं । ज्योतिष शास्त्रीय दृष्टिले विसं २०८२ को तुलनामा आगामी वर्ष २०८३ बढी शुभ र फलदायी रहने ज्योतिषीहरूले प्रक्षेपण गरेका छन्। धार्मिक, सांस्कृतिक पत्रकार समाज (रेक्जोन) द्वारा आयोजित साक्षात्कार कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन्।
विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमका अनुसार २०८३ सालमा आठवटा शुभ ग्रह परेका छन्। यद्यपि, सूर्य र मङ्गल गरी दुई अशुभ ग्रहको योग रहेकाले विश्वमा ठूला उतारचढाव भने कायमै रहनेछ। विशेषगरी युरोप र अरब क्षेत्रमा सैन्य शक्ति बढाउने होडबाजी चल्ने र विश्व समीकरण बदलिने खतरा उनले औँल्याए। विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको मुद्रा झन् कमजोर हुने ग्रहयोग रहेको उनको दाबी छ।
प्रविधिको क्षेत्रमा प्रगति हुने र सेयर बजार बढ्ने संकेत देखिए पनि महँगीका कारण जनआक्रोश बढ्न सक्ने गौतमले चेतावनी दिए। ‘व्यापारमा कुनै समूहको एकाधिकार रहन सक्छ, तर कला र सञ्चार क्षेत्रमा भने राम्रो प्रगति हुने देखिन्छ,’उनले भने।
संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भने २०८३ सालमा पनि ‘दारुण काल’ कायमै रहने भएकाले सतर्क रहनुपर्ने बताए। यो वर्ष दुईवटा ‘खप्पर योग’ परेकाले विश्वमा युद्धको सम्भावना अझै टरिनसकेको उनको विश्लेषण छ। यस्तै, राष्ट्रिय महिला ज्योतिष संघकी सचिव सुधा भट्टराईले मङ्गल सेनापति भएकाले विवाद र झगडाको सम्भावना रहे पनि मेसिनरी र औद्योगिक क्षेत्रमा भने विकास हुने बताइन्। असारपछि बृहस्पति उच्च स्थानमा जाने भएकाले देशको अवस्थामा सुधार आउने उनको भनाइ छ।
ज्योतिषविद् एवं वास्तुशास्त्री शिवप्रसाद पोखरेलले राजनीतिक दृष्टिले विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र शासकहरूबीच मनमुटाव आउन सक्ने भविष्यवाणी गरे। नेपालको सन्दर्भमा प्राकृतिक र मानव सिर्जित विपत्ति आउन सक्ने भन्दै उनले सचेत गराए। उनले सिंहदरबार र नारायणहिटी जस्ता मुख्य संरचनाको वास्तु नमिलेकाले पनि देशमा समस्या आउने गरेको उल्लेख गरे।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले धार्मिक तथा सांस्कृतिक पत्रकारहरूको क्षमता विकासका लागि आगामी दिनमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिए।

























