
काठमाडौं। सुकुम्बासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ। आयोगको टोली आज (आइतबार) बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर त्यहाँ राखिएका सुकुम्बासीहरूको अवस्थाबारे जानकारी लिएको छ।
शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन तथा कीर्तिपुरको सत्सङ्ग भवन लगायतका स्थानमा लगेर राखेको छ। सुकुम्बासीहरूलाई हटाउने क्रममा मानव अधिकार हनन भएको आरोप लागेपछि आयोगले अनुगमन सुरु गरेको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सुकुम्बासीहरूको वास्तविक अवस्था बुझ्न टोली खटिएको बताए।
आयोगले सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा २०६९ सालमै सरकारलाई सिफारिस गरेको थियो। उक्त सिफारिस कार्यान्वयन गर्न आग्रह गर्दै आयोगले यही वैशाख ११ गते पुनः पत्राचार गरेको थियो। २०६९ जेठ १ गते आयोगले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई भनेको थियो। साथै, अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि आयोगले निर्देशन दिएको थियो।

























