
भोजपुर । लगातारको भारी वर्षापछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जोड्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
भोजपुर नगरपालिका–५ बोखिममा बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको थियो । पुलसँगै आसपासको सडक संरचना पनि क्षतिग्रस्त हुँदा वैकल्पिक मार्गबाट समेत यातायात सञ्चालन गर्न कठिन बनेको थियो । शनिबार साँझदेखि पूर्ण रूपमा ठप्प भएको उक्त सडक करिब २४ घण्टापछि आंशिक रूपमा खुलाइएको हो ।
हाल एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको भोजपुर प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर महेन्द्र पराजुलीले बताए । लगातारको वर्षाका कारण जिल्लाका अन्य स्थानका सडकहरूमा समेत क्षति पुग्दा यातायात क्षेत्र प्रभावित भएको छ ।
सडक विभागले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः सञ्चालनका लागि काम गरिरहेको जनाएको छ । पूर्ण रूपमा नियमित यातायात सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा आवागमन र आपूर्तिमा अस्थायी कठिनाइ उत्पन्न भएको छ ।

























