१७ देश राजदूतविहीन, नियुक्ति अन्योलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार १८:४४

काठमाडौं । नेपालका विभिन्न १७ देशका दूतावास अहिले राजदूतविहीन अवस्थामा पुगेका छन् । सरकारले दुई चरणमा राजदूतहरू फिर्ता बोलाइएपछि रिक्त पदमा नयाँ नियुक्ति हुन नसक्दा कूटनीतिक क्षेत्र अन्योलमा परेको छ ।

गत असोज अन्तिम साता सुशीला कार्की नेतृत्वको सरकारले चीन, अमेरिका, जापानलगायत ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो । चैत अन्तिम साता बालेन्द्र शाह नेतृत्वको सरकारले भारत, दक्षिण कोरिया, अस्ट्रेलियासहित थप ६ देशका राजदूत फिर्ता बोलायो । यससँगै १७ दूतावास नेतृत्वविहीन बनेका छन् ।

Advertisement

राजदूत नियुक्ति निर्देशिका अनुसार पद खाली हुनुअघि नै प्रक्रिया सुरु हुनुपर्ने व्यवस्था भए पनि हालसम्म कुनै औपचारिक प्रक्रिया अघि बढेको छैन । परराष्ट्र मन्त्रालयले समेत नियुक्ति सम्बन्धी काम सुरु नभएको स्पष्ट पारेको छ ।

अहिले अधिकांश दूतावास कार्यवाहक प्रमुखको भरमा सञ्चालन भइरहेका छन् । कूटनीतिक दृष्टिले यस्तो अवस्था दीर्घकालीन रूपमा उपयुक्त नहुने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राजदूत नहुँदा सम्बन्धित देशमा नेपालको उपस्थिति कमजोर देखिने र द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने उनीहरूको भनाइ छ । आगामी केही महिनाभित्र थप ७ देशका राजदूतको कार्यकाल सकिँदै छ ।

यसले गर्दा कुल रिक्त संख्या २४ पुग्ने देखिएको छ । यद्यपि, सरकारभित्र भने नियुक्तिका विषयमा आन्तरिक छलफल भइरहेको बताइए पनि ठोस निर्णय कहिले हुन्छ भन्ने अझै स्पष्ट छैन । कूटनीतिक वृत्तमा भने छिटो नियुक्ति प्रक्रिया अघि बढाउन दबाब बढ्न थालेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.