
विराटनगर । विराटनगरमा नेतृत्व तथा टोली निर्माणसम्बन्धी एकदिने ‘लिडरसीप ल्याब’ कार्यक्रम आयोजना गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर सेन्ट्रल अन्तर्गतका लियो क्लब अफ विराटनगर सेन्ट्रल, सेन्ट्रल मेघा तथा सेन्ट्रल शताब्दीको संयुक्त आयोजनामा शनिबार विराटनगरमा सम्पन्न कार्यक्रमा करिब ५० जना सहभागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लायन इन्द्र खत्री (राजन), लायन प्रा. डा. सन्देशदास श्रेष्ठले लगायतले प्रेरणादायी मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख प्रशिक्षक लायन सन्दीपदास श्रेष्ठ तथा प्रशिक्षक लियो लायन शंकर मण्डलले सहभागीहरूलाई नेतृत्व विकास, टोली निर्माण, प्रभावकारी सञ्चार तथा व्यक्तिगत विकाससम्बन्धी विषयमा अन्तरक्रियात्मक ढंगले प्रशिक्षण दिएका थिए । उनीहरुले व्यावहारिक अभ्यास, समूहगत गतिविधि तथा अनुभव आदानप्रदानमार्फत सहभागीहरूलाई नेतृत्व क्षमताको विकासमा मार्गदर्शन गरे ।
कार्यक्रमको समन्वय तथा नेतृत्व लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष पवन काफ्लेले गरेका थिए । कार्यक्रमले युवा पुस्तामा नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

























