
काठमाडाैं । काठमाडौंका विभिन्न ठाउँमा रहेका सुकुम्वासी बस्ती भत्काएपछि सहिद रंगशाला पुगेर नाम टिपाउनेको संख्या ५४७ पुगेको छ । रंगशालामा बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्वासी परिवारको नाम टिपिरहेका छन् । आइतबार साँझ साढे ६ बजेसम्मको तथ्यांक अनुसार ५४७ परिवारले नाम टिपाएका हुन् ।
समितिमा थापाथलीका ७२ परिवार, शान्तिनगरका ६२ परिवार, गैह्रीगाउँका ४४ परिवार र मनोहराका ३९ परिवारले नाम टिपाएका छन् । उपत्यका विकास प्राधिकरणमा ३३० परिवारले नाम टिपाएका छन् । ती मध्ये थापाथलीका ६६ परिवार, गैह्रीगाउँका ४३ परिवार, सिनामंगलका २१ परिवार, शान्तिनगरका ५८ परिवार र मनोहराका ३० परिवार छन् ।
रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ । यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ । तथ्याङ्क संकलनपछि भूमिहीन र आवासहीनहरूको व्यवस्थापन गर्न पाँचवटा होल्डिङ सेन्टरमा लगेर राखिने बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिए ।

























