केही प्रदेशमा वर्षा र तराईमा तातो बढ्ने सम्भावना

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १४, सोमबार ०६:११

काठमाडौं । देशभरको मौसममा आज (सोमबार) आंशिक बदलीदेखि मध्यम वर्षासम्मको मिश्रित अवस्था देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली सक्रिय रहँदा विभिन्न प्रदेशमा बदली र वर्षाको अवस्था बनेको हो । महाशाखाले दिएको जानकारी अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ ।

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइसकेको छ । सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहनेछ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

यीमध्ये केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने गर्मी बढ्न सक्ने पूर्वानुमान गरिएको छ । मौसम सफा रहने भएकाले तापक्रम वृद्धि भई तातो महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातको समयमा भने देशका अधिकांश हिमाली क्षेत्रमा बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली कायम रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.