
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । भारतले नयाँ सरकार गठनपछि पहिलोपटक उच्चस्तरीय अधिकारीलाई काठमाडौं पठाउन लागेको हो ।
बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो भ्रमणलाई दुई देशबीचको कूटनीतिक सक्रियताको निरन्तरता रूपमा हेरिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिश्री वैशाख अन्तिम साता, सम्भवतः वैशाख ३०–३१ गतेतिर काठमाडौं आउने प्रस्ताव भारतीय पक्षले अघि बढाएको छ ।
भ्रमणलाई औपचारिकता दिनका लागि नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईले भारतीय समकक्षी मिश्रीलाई निमन्त्रणा पठाइसकेको जनाइएको छ । यद्यपि, भ्रमणका ठोस एजेन्डा सार्वजनिक गरिएको छैन ।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्ने तयारी गरेसँगै त्यसको प्रारम्भिक तयारी र द्विपक्षीय विषयमा छलफल गर्न मिश्रीको काठमाडौं भ्रमण तय भएको हो ।
























