
विराटनगर । अविरल वर्षा, बाढी, पहिरो र प्राकृतिक विपद्का कारण देशभरका मुख्य तथा सहायक सडकहरू अवरुद्ध हुन थालेपछि सुरक्षा तैनाथी बढाइएको छ ।
विपद्का कारण उत्पन्न सडक संकटबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा खोज र उद्धारका लागि सुरक्षा सक्रियता बढाइएको हो । नेपाल प्रहरीले सडक सुरक्षा, उद्धार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाबाट जारी निर्देशनमा बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतका मुख्य तथा सहायक सडकहरुमा यात्रु र सवारीसाधन अलपत्र पर्ने अवस्था बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ । जोखिमयुक्त स्थानहरूमा तत्काल प्रहरीको ‘इन्सिडेन्ट कमाण्ड पोस्ट’ स्थापना गरी समन्वयात्मक रूपमा काम अगाडि बढाउन निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय, सडक विभाग, स्थानीय तह, स्वास्थ्य संस्था, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकाय र दमकलसँग समन्वय गरेर उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिने नेपाल प्रहरीको योजना छ । प्रमुख राजमार्ग अवरुद्ध भएको सूचना तत्काल प्रदेश तथा केन्द्रीय कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ ।
सडक सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिमयुक्त स्थानहरूमा सर्वसाधारणको आवतजावत आवश्यकताअनुसार पूर्ण वा आंशिक रूपमा नियन्त्रण गर्न, वैकल्पिक मार्ग उपलब्ध भए सवारीसाधनलाई त्यतातर्फ ‘डाइभर्ट’ गर्न, एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्थामा प्रहरीको प्रत्यक्ष निगरानीमा मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन विशेष निर्देशन जारी गरिएको छ । विशेष गरी रातको समयमा उच्च जोखिम क्षेत्रहरूमा सवारी सञ्चालन रोक्ने वा सीमित गर्ने नीति प्रहरीले अवलम्बन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी अविनारायण काफ्लेका अनुसार अलपत्र परेका यात्रुको उद्धारलाई उच्च प्राथमिकता दिइने छ । ‘बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा महिलालाई सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकता दिइनेछ,’ उनले भने, ‘आवश्यक परेमा स्थानीय तहसँग समन्वय गरी खानेपानी, प्राथमिक उपचार, खाद्यान्न तथा अस्थायी आश्रयको व्यवस्था मिलाइनेछ ।’
कतिपय स्थानमा पैदल आवतजावत गराउनुपर्ने अवस्थामा सुरक्षा घेरा बनाएर लाइन व्यवस्थापनसहित सहायता टोली परिचालन गरिने जानकारी काफ्लेले दिए ।अवरुद्ध सडक खुलाउने कार्यलाई तीव्र बनाउन डोजर, एक्साभेटर, जेसीबी जस्ता उपकरण तत्काल परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ ।
तर, सडक खुलेपछि पनि पुनः जोखिमको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने स्पष्ट पारिएको छ । पहिरो, कटान वा ढुंगा खस्ने सम्भावना भएका स्थानहरूमा थप सुरक्षा घेरा कायम गरिने प्रहरीले जनाएको छ ।
नदी किनार, पुल क्षेत्र, डाइभर्सन, भिर र साँघुरा मोडहरूलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरी विशेष निगरानी बढाइने डीआईजी काफ्लेको भनाइ छ । जोखिमयुक्त स्थानहरूमा अनावश्यक भिडभाड हुन नदिने तथा आपतकालीन सेवा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीलाई प्राथमिकता दिइने उनले बताए ।
सूचना व्यवस्थापनलाई पनि उत्तिकै महत्त्व दिँदै सडक अवरोध, वैकल्पिक मार्ग र अनुमानित खुल्ने समयका बारेमा नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्न मातहतका प्रहरी युनिटलाई प्रधान कार्यालयले निर्देशन दिएको छ । ‘गलत सूचना र अफवाह नियन्त्रण गर्न विशेष ध्यान दिइनेछ । स्थानीय एफएम, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत जनतालाई समयमै जानकारी दिने योजना छ,’ काफ्लेले भने ।
प्रहरीले प्रत्येक अवरोध घटनाको प्रारम्भिक प्रतिवेदन तत्काल पठाउने, हरेक ६ घण्टामा स्थिति अद्यावधिक गर्ने र सडक खुलेपछि क्षति, उद्धार तथा व्यवस्थापनसँग सम्बन्धित विस्तृत प्रतिवेदन पेस गर्ने व्यवस्था पनि मिलाएको छ । वर्षायामसँगै सम्भावित विपद् जोखिमलाई ध्यानमा राखेर देशभर सुरक्षा संयन्त्र सक्रिय हुनुपर्ने अवस्था रहेको डीआईजी काफ्लेको भनाइ छ ।



















