
काठमाडौं।काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिएकी छन्। थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई यस्तो निर्देशन दिएकी हुन्।
कार्यवाहक प्रमुख डङ्गोलले खाली गराइएका ठाउँहरूको सुरक्षाका लागि तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला निकायसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागमार्फत काम अघि बढाउन भनेकी छन्। उनले आइतबार नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको समेत निरीक्षण गरिन्। अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई ती भवनहरूमा राख्ने महानगरको योजना छ।
बागमती नदी खण्डको थापाथली क्षेत्रको बस्ती वैशाख १२ गते खाली गराइएको थियो। वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारका अनुसार थापाथली र वंशीघाट क्षेत्रमा रहेका ३३२ घर टहरामध्ये थापाथलीतर्फका १३६ घर टहरा भत्काइएका छन्। यस्तै वैशाख १२ र १३ गते सिनामङ्गल, जागृतिनगर र मनोहरा क्षेत्रका अनधिकृत संरचनाहरू पनि हटाइएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २०७९ को प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन्। जसमा काठमाडौँ महानगरभित्र मात्रै २ हजार २४५ घरधुरी रहेका छन्। महानगरले अहिले ती क्षेत्रका सार्वजनिक तथा पर्ती जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ।
























