विवादपछि सशस्त्रका डीएसपी हमाल बाहिनी तानिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १३:०८

सिरहा । सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन्। स्थानीयसँगको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेको विषयमा छानबिनका लागि उनलाई बाहिनी तानिएको हो।

सशस्त्र प्रहरी प्रवक्ता एवम् डीआइजी विष्णुप्रसाद भट्टका अनुसार डीएसपी हमालमाथि लागेका आरोपबारे थप अनुसन्धान गर्न बाहिनी बोलाइएको हो। हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टीमा भन्सार छलीको डिजेल नियन्त्रणमा लिने क्रममा स्थानीय र प्रहरीबीच विवाद भएको थियो। सोही क्रममा डीएसपी हमालले स्थानीयलाई तस्कर भन्दै आक्रोश पोखेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Advertisement

भिडियोमा स्थानीयले डीएसपी हमालले हेलमेट लगाएर बीआर ०६ डीवाई ३०४१ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरेको भन्दै प्रतिवाद गरेका छन्। विवाद बढेपछि घटनास्थल पुगेका सिरहा क्षेत्र नं। २ का सांसद शिवकुमार यादवले सबै स्थानीयलाई तस्कर भन्नु अनुचित भएको बताए। उनले प्रहरी पोशाकमा भारतीय सवारी प्रयोग गरी नागरिकलाई त्रसित पार्नु स्वीकार्य नभएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले विवादका कारण हमाललाई मधेश प्रदेश बाहिनी–२ को हेडक्वाटर पठाइएको पुष्टि गरे। डीएसपी हमाल सशस्त्र प्रहरी बल माडर अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए। स्थानीयले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.