
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन खोज्नु अमर्यादित कदम भएको बताएका छन्। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानुन निर्माणको प्रक्रिया संसद्बाटै पारदर्शी रूपमा हुनुपर्नेमा जोड दिएका हुन्।
‘एकातिर बोलाइएको संसद्को अधिवेशन बिना जानकारी स्थगित गर्ने र अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउन खोज्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन,’ प्रवक्ता चालिसेले भने। उनले सरकारले चालेको यस्तो कदमले स्वयं सरकारलाई नै अनुकूलता प्रदान नगर्ने समेत स्पष्ट पारेका छन्।
सङ्घीय संसद्को अधिवेशन बोलाइसकेको अवस्थामा त्यसलाई छलेर अध्यादेश ल्याउने तयारी हुनु लोकतान्त्रिक अभ्यास विपरीत रहेको उनको भनाइ थियो। सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो।

























