
काठमाडौं । अर्थ मन्त्रालयले मुलुकको वर्तमान आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका क्रममा गरेको प्रतिबद्धता अनुसार मन्त्रालयले अर्थतन्त्रको गहन विश्लेषणसहितको श्वेतपत्र (स्थिति पत्र) सार्वजनिक गरेको हो ।
स्थिति पत्रमार्फत सरकारले आगामी ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । यसैगरी, नेपालको अर्थतन्त्रको आकारलाई १०० अर्ब अमेरिकी डलर नजिक पुर्याउँदै मुलुकलाई सम्मानजनक ‘मध्यम आय’ भएको देशको रूपमा स्थापित गर्ने आधार तयार भएको स्थितिपत्रमा उल्लेख छ ।
पूर्वाधार र ऊर्जामा फड्को
मन्त्रालयले पूर्वाधार विकासलाई आर्थिक समृद्धिको मुख्य इन्जिन मानेको छ । स्थितिपत्रमा आगामी ५ वर्षभित्र विद्युतको कुल जडित क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी २ वर्षभित्रै सम्पन्न गर्ने कार्ययोजना अघि सारिएको छ । रणनीतिक महत्वका नयाँ आयोजनाहरू सुरु गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने र आर्थिक गतिविधिमा तीव्रता दिने सरकारको योजना छ ।
स्थितिपत्रमा विगतका आर्थिक नीतिहरूले अपेक्षित नतिजा दिन नसक्नुका कारणहरूको समेत मिहिन विश्लेषण गरिएको छ । कमजोर कार्यान्वयन क्षमता, वित्तीय स्रोतको अभाव र सीमित स्रोतसाधनको अदूरदर्शी बाँडफाँट नै मुख्य बाधक रहेको अर्थ मन्त्रालयको निष्कर्ष छ । विगतमा प्राथमिकता निर्धारण गर्न नसक्दा र कुशल विनियोजनको अभाव हुँदा कतिपय नीतिहरू कागजमै सीमित भएको स्विकारोक्ति पत्रमा गरिएको छ ।
स्थितिपत्रलाई आगामी दिनमा यथार्थपरक नीति निर्माण गर्ने प्रमुख आधार बनाइने मन्त्रालयले जनाएको छ । वित्तीय स्रोतको कुशल परिचालन, उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक समावेशीता कायम गर्न यो दस्तावेजले ‘मार्गदर्शक’को भूमिका खेल्ने अपेक्षा गरिएको छ । अर्थमन्त्री डा. वाग्लेले यो प्रतिवेदन केवल तथ्यांकको संग्रह मात्र नभई अर्थतन्त्रलाई गतिशिल बनाउने र कार्यान्वयन पक्षलाई नतिजामुखी तुल्याउने ठोस खाका भएको बताएका छन् ।

























