
इटहरी । सुनसरीका अलगअलग स्थानमा सोमबार राति र दिउँसो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । इटहरी र धरानमा दुर्घटना भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २२ प ४५८९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर राति ९ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट इटहरीतर्फ आउँदै गरेको स्कुटर दुर्घटनामा परेर चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का ३५ वर्षीय राजवीरेन उराउको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक उराउलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको सई (प्रहरी नायब निरीक्षक) होमप्रसाद खनाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।
स्कुटरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका–४ मा बसबाट ओर्लने क्रममा ठोक्किएर एक जना वृद्धको मृत्यु भएको छ । धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ६०९० नम्बरको बसमा ठोक्किएर धरान–४ का ७८ वर्षीय प्रेमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना दिउँसो २ः५० बजेतिर भएको हो । मगर त्यही बसमा सवार थिए । बस रोकेर उनी ओर्लिन नपाउँदै बस अगाडि बढाउँदा दुर्घटना भएको हो । मगर बाहिर निस्किँदै गर्दा बस अचानक अघि बढाइएको र बसकै पछाडिको भागमा ठोक्किएर उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसको पछाडिको भागमा ठोक्किएर बेहोस भएका वृद्धलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा ४ः२५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक भोजपुरको हतुवागढी गाउँपालिका–१ घोडेटारका ३७ वर्षीय गोविन्द बस्नेतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



















