
विराटनगर । विराटनगरमा जेनजी आन्दोलनको आवरणमा आगजनी र तोडफोड गरेर ध्वस्त पारिएका ट्राफिक लाइट मर्मत सम्भारपछि पुनः सञ्चालनमा आएका छन् ।
२०८२ साल भदौ २४ गते अराजक समूहको निशानामा परेका लाइटहरु पुनः सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि बन्द रहेका लाइटहरू पुनः सुचारु भएसँगै सहरको ट्राफिक व्यवस्थापन क्रमशः सुधारतर्फ उन्मुख भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
मेयर नागेश कोइरालाका अनुसार महानगर क्षेत्रभित्रका अधिकांश स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइसकिएको छ । हाल एउटाबाहेक अन्य सबै स्थानका ट्राफिक बत्तीहरू पुनः सञ्चालनमा आइसकेका छन् ।
आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनाइएका लाइटलाई पुनः सञ्चालनमा ल्याउन महानगरले मुचुल्का तयार पार्ने, प्राविधिक अनुगमन गर्ने तथा मर्मत सम्भारका लागि आवश्यक बजेट छुट्याएको थियो । मेयर कोइरालाले महानगर आफैंले मर्मत सम्भार गरेर ट्राफिक लाइटहरू पुनः सञ्चालनमा ल्याएको स्पष्ट पारे ।
उनले कोशी प्रदेश सरकारमार्फत निर्माण गरिएको बरगाछी चौकको ट्राफिक लाइट भने अझै महानगरको प्रत्यक्ष व्यवस्थापनमा नआएको बताए । उनका अनुसार ट्राफिक लाइट सञ्चालनमा आएसँगै सवारी दुर्घटना न्यूनीकरण हुने र सवारी चापलाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
आन्दोलनका क्रममा विराटनगरका ६ स्थानमा रहेका ट्राफिक लाइटहरूमा व्यापक क्षति पुगेको थियो । आगलागी र तोडफोड गरेर लाइटहरूमा जडान गरिएका इन्भर्टर, ब्याट्री, विद्युत् तार, क्यामेरा लगायतका सामग्रीमा क्षति पुर्याइएको थियो ।
क्षति नपुगेका सामान लुटपाट र चोरी गरेर लगिएको थियो । आगजनी गरेर ध्वस्त पारिएपछि कोशी प्रदेशको राजधानी विराटनगर लामो समयसम्म ट्राफिक लाइटविहीन बनेको थियो । साथै, ट्राफिक व्यवस्थापनमा चुनौती उत्पन्न भएको थियो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख, इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार ५ स्थानका ट्राफिक लाइटहरू सोमबारदेखि सञ्चालनमा आइसकेका छन् । कञ्चनबारीको लाइट पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । न्यौपानेले कञ्चनबारीको ट्राफिक लाइटको पोल नै भाँचिएका कारण मर्मत सम्भारका लागि नयाँ सामग्री आवश्यक परेको छ । आवश्यक सामग्री काठमाडौंबाट मगाइसकिएको जानकारी उनले दिए ।
इन्स्पेक्टर न्यौपानेका अनुसार सम्भवतः केही दिनभित्रै उक्त लाइट पनि सञ्चालनमा आउनेछ । मुख्य राजमार्ग तथा भित्री सडकहरूमा ट्राफिक लाइटको उपस्थिति अत्यन्त महत्वपूर्ण हुने उनले बताए । विशेषगरी सीटी सफारी, मोटरसाइकल लगायतका सवारी साधनहरूलाई नियममा राख्न तथा भिडभाड नियन्त्रण गर्न ट्राफिक लाइटले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
ट्राफिक संकेत प्रणाली सक्रिय भएपछि चालकहरूको अनुशासन बढ्ने र दुर्घटनाको जोखिम कम हुने जानकारी इन्स्पेक्टर न्यौपानेले दिए । महानगरपालिकाले ट्राफिक लाइट पुनः सञ्चालनका लागि प्रारम्भिक रूपमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । मर्मत सम्भार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि थप खर्च आवश्यक परे आगामी आर्थिक वर्षमा थप बजेट छुट्याउने महानगरको योजना रहेको छ ।
ट्राफिक लाइट पुनः सञ्चालनमा आएपछि विराटनगरवासीले केही हदसम्म राहत महसुस गर्न थालेका छन् । लामो समयसम्म संकेत प्रणालीविना सञ्चालन हुँदै आएको ट्राफिक अब क्रमशः व्यवस्थित बन्दै जाने अपेक्षा गरिएको छ । महानगर, ट्राफिक प्रहरी र सम्बन्धित निकायबीचको समन्वयले आगामी दिनमा सहरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बन्ने विश्वास गरिएको स्थानीय बताउँछन् ।



















