माैसम : आज र भाेलि वर्षाकाे सम्भावना, रातिको समयमा यात्रा नगर्न सुझाव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार ०८:५७

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले मौसमविदले सतर्कता अपनाउन आग्रह गरेका छन् । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जान सक्ने र साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै जोखिमयुक्त सडकमा रात्रिकालीन यात्रा नगर्न सुझाव दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (वैशाख १५ गते) रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जानेछ । वैशाख १५ को तुलनामा १६ गते (बुधबार) देशका धेरै स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ ।

Advertisement

कुन-कुन राजमार्गमा छ जोखिम ?

मौसमविद उज्वल उपाध्यायका अनुसार हाल सक्रिय रहेको मौसमी प्रणालीले काठमाडौं उपत्यकादेखि पूर्वी नेपालको मेचीसम्म प्रभाव पार्नेछ । भोलि बुधबार र पर्सि बिहीबार पनि पूर्वदेखि पश्चिमको कालीगण्डकी क्षेत्रसम्म बेला-बेलामा वर्षा भइरहने देखिएको छ । उपाध्यायले वर्षाका कारण बाटो अवरुद्ध हुन सक्ने भन्दै निम्न राजमार्गहरूमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङल्हामु राजमार्ग, बीपी राजमार्ग प्रयाेग नगर्न सुझाव दिइएकाे छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सातै प्रदेशका जिल्लाहरूलाई ‘पहेँलो’ रङले संकेत गर्दै सतर्कता अपनाउन भनेको छ । विभागका मौसमविद सरोज पुडासैनीका अनुसार वैशाख १५ र १६ गते विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनेछ ।

वैशाख १५ (आज): कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्छ ।

वैशाख १६ (भोलि): कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि पानी पर्ने सम्भावना छ । भोलि बुधबार कोशी, मधेश, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.