
काठमाडौं । सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै अध्यादेशहरू स्वीकृतिका लागि शीतलनिवास पठाएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्बाट सिफारिस भई आएका अध्यादेशहरू हाल अध्ययनको क्रममा छन् । सरकारले संसद् अधिवेशन स्थगित गरेपछि संवैधानिक प्रक्रिया अघि बढाउन अध्यादेशको बाटो रोजेको देखिएको छ ।
यसअघि वैशाख ८ गते मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । राष्ट्रपतिले वैशाख १७ गतेका लागि अधिवेशन बोलाएका थिए । तर, त्यसपछि सरकारले पुनः अधिवेशन स्थगित गर्न सिफारिस गरेपछि अधिवेशन रोकिएको थियो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने व्यवस्था छ । पछिल्लो समय नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै परिषद्ले पूर्णता पाएको छ । अध्यादेशमार्फत संवैधानिक नियुक्ति प्रक्रिया अघि बढाउने तयारी छ ।

























