
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार बुधबार साँझ पौने ६ बजेदेखि सुरु भई बिहीबार बिहान पौने ८ बजेसम्म देशका विभिन्न प्रदेशमा हावाहुरीको प्रभाव रहेको हो । सुदूरपश्चिम प्रदेशको डडेलधुरा र डोटी आसपास, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची आसपास, मधेश प्रदेशका धनुषा र बारा आसपास तथा कोशी प्रदेशको मोरङसहितका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।
यस अवधिमा मेघगर्जन, चट्याङ, असिना र पानीसहितको मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने भएकाले देशभरका धेरै स्थान प्रभावित हुन सक्ने विभागले जनाएको छ । मौसम अचानक परिवर्तन हुन सक्ने भएकाले खुला स्थानमा नबस्न, सावधानी अपनाउन र आवश्यक सतर्कता लिन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

























