बीपी राजमार्ग अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार ०७:२७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा निरन्तर परेको वर्षासँगै रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ ।

खोलामा पानीको सतह तीव्र रूपमा बढेर डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यसअघि पनि बाढीका कारण शनिबारदेखि सडक अवरुद्ध भएको थियो भने सोमबार साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो ।

Advertisement

तर, मंगलबार साँझ पुनः भारी वर्षासँगै अवस्था बिग्रिएपछि यातायात सञ्चालन असम्भव बनेको हो । सडक बन्द भएपछि काठमाडौंबाट पूर्वी क्षेत्रमा जाने तथा त्यहाँबाट आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

प्रहरीका अनुसार लगातारको वर्षाले विभिन्न स्थानमा जोखिम बढाएको छ । जनधनको क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सवारी आवागमन पूर्ण रूपमा रोकिने निर्णय गरिएको हो ।

प्रहरीले मौसममा सुधार नआएसम्म र सडकको अवरोध हटिसकेपछि मात्र पुनः सञ्चालनको जानकारी दिइने जनाएको छ । आवश्यक जानकारीका लागि सर्वसाधारणलाई १०० र १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । लगातारको वर्षाले बीपी राजमार्ग बारम्बार अवरुद्ध हुँदा यात्रुहरू थप समस्यामा परिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.