
काठमाडौं। नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने विशेष पहल थालेको छ । हालसम्म परराष्ट्र मन्त्रालयका अधिकारी र सत्तारुढ दलको सिफारिसका आधारमा राजदूत नियुक्ति हुँदै आएको परम्परा तोड्दै वर्तमान सरकारले योग्यताका आधारमा राजदूत छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार निश्चित संख्या तोकेर विज्ञापन आह्वान गर्ने र प्रतिस्पर्धाबाट छानिएका योग्य व्यक्तिलाई राजदूत नियुक्त गर्ने तयारी भइरहेको छ । सोमबार मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा समेत मन्त्री खनालले यसबारे प्रधानमन्त्रीसँग सहमति भइसकेको जानकारी दिएका थिए ।
मन्त्री खनालको सचिवालयका अनुसार अर्को हप्तासम्म खुला दरखास्त आह्वान हुन सक्ने सम्भावना छ । राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत परराष्ट्र मन्त्रालयका कर्मचारी र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
हाल नेपालका ४४ विदेशस्थित नियोगमध्ये भारत, चीन, अमेरिका र बेलायतसहित १७ स्थानमा राजदूत पद रिक्त छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरूलाई बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि यी पदहरू रिक्त भएका हुन् ।
आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूतको कार्यकाल सकिने भएकाले वर्तमान सरकारले एकैपटक २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउने देखिएको छ ।



















