
काठमाडौं । काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरण कार्यान्वयन गर्न नेपाल सरकार र चीन सरकारबीच औपचारिक सम्झौता भएको छ ।
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार, कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा आवश्यक पुल निर्माण गरिनेछ ।
यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ । यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा देखिने समस्या छिटो समाधान गरिने प्रतिबद्धता जनाउँदै थप पूर्वाधार विकासका लागि चिनियाँ लगानीको अपेक्षा व्यक्त गरे । राजदूत माओमिंगले उपयुक्त वातावरण बनेमा नेपालमा चिनियाँ लगानी बढ्न सक्ने बताए ।



















