
काठमाडौं । विपद् पूर्वतयारीका लागि सुकुम्वासी बस्तीको विवरण माग गरिएको नेपाली सेनाले बताएको छ ।
सेनाले पालिकाहरुसँग सुकुम्वासीकाे विवरण माग गरेपछि आलाेचना भएकाे थियाे । बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुम्वासी बस्तीको विवरण माग गरिएको बताएको हाे ।
विगतका वर्षहरूमा जस्तै विपद्का घटनाहरूलाई मध्यनजर गर्दै वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोख जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरू समन्वय सहकार्य गर्दै मानवीय र भौतिक क्षतिको न्यूनिकरणका लागि विवरण संकलनको काम भएको बताएको छ ।
‘नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद् घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापना कार्यहरूलाई सहज बनाउने उदेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।



















