आरोहणको ७० वर्ष पूरा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०७:५४

काठमाडौं । विश्व पर्वतारोहण इतिहासमा महत्वपूर्ण स्थान ओगटेका मनास्लु हिमाल र ल्होत्से हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पूरा भएको छ । त्यस अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।

यस ऐतिहासिक अवसरलाई ‘प्लाटिनम जुबिली’का रूपमा मनाउन नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघ (एनएमए)ले संयुक्त पहल अघि बढाएका हुन् ।
आयोजक संस्थाहरूले ८ हजार १६३ मिटर अग्लो मनास्लु र ८ हजार ५१६ मिटर अग्लो ल्होत्सेको पहिलो आरोहणको ७ दशक पूरा भएको अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्मरणीय बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

Advertisement

कार्यक्रम विशेषगरी मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित रहने बताइएको छ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक सुनील शर्माले नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको स्पष्ट पारे । उनका अनुसार यस्ता ऐतिहासिक अवसरले नेपालको पर्वतीय पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत बनाउने विश्वास गरिएको छ ।

यसैगरी, एनएमएका अध्यक्ष फुरगेल्जे शेर्पाले ‘प्लाटिनम जुबिली’ नेपालका लागि मात्र नभई विश्व पर्वतारोहण समुदायकै लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । उनले मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान दिएको बताए ।

कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लु हिमालको थ्रिडी मोडेल सार्वजनिक गरिनेछ भने गोरखाको चुमनुब्री गाउँपालिकामा मनास्लुका पहिलो आरोहीको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार उक्त प्रतिमा ‘मनास्लु डे’का अवसरमा अनावरण गर्ने तयारी भइरहेको छ ।

इतिहासअनुसार सन् १९५६ मा यी दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो । मनास्लु हिमाल जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले १९५६ मे ९ मा आरोहण गरेका थिए । त्यस्तै, ल्होत्से हिमाल स्विस पर्वतारोही अर्न्स्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक सफलतापूर्वक चुमेका थिए ।

७० वर्षअघि भएको ऐतिहासिक आरोहणहरूले नेपाललाई विश्व पर्वतारोहण नक्सामा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । अहिले त्यसै उपलब्धिलाई स्मरण गर्दै मनाउन लागिएको ‘प्लाटिनम जुबिली’ले नेपालमा पर्यटन प्रवर्धनका साथै पर्वतीय इतिहासको संरक्षण र प्रचारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.