ट्रम्पको विशेष सन्देश बोकेर काठमाडौं आउँदै गोर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०९:३१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज (बिहीबार) साँझ काठमाडौं आइपुग्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ट्रम्पको विशेष सन्देश बोकेर उनी पहिलोपटक नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

दक्षिण तथा मध्य एसियाका लागि ट्रम्पका विशेष दूतसमेत रहेका गोर हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत छन् । ट्रम्पका निकट सहयोगी मानिने उनलाई दुवै जिम्मेवारी एकैसाथ दिइएको छ । कूटनीतिक हिसाबले उनको हैसियत यसअघि काठमाडौं आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरभन्दा उच्च मानिन्छ ।

Advertisement

गोरको नेपाल भ्रमण मुख्य रूपमा दुई देशबीचको सम्बन्ध विस्तार, लगानी प्रवर्धन र व्यवसायिक सहकार्यका विषयमा केन्द्रित हुने बताइएको छ । उनले काठमाडौंमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

तर, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको भेट भने अझै निश्चित भइसकेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार समय व्यवस्थापन र आन्तरिक व्यस्तताका कारण हालसम्म भेट निश्चित हुन सकेको छैन । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू सुशासनका काममा केन्द्रित हुनुहुन्छ । भेटबारे निर्णय भइसकेको छैन ।

यसअघि नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री कपुरले पनि प्रधानमन्त्रीसँग भेट गर्न नपाई अन्य राजनीतिक दलका नेता र मन्त्रीहरूसँग भेटवार्ता गरेका थिए । सोही प्रवृत्ति दोहोरिन सक्ने अनुमानसमेत कूटनीतिक वृत्तमा गरिएको छ ।

यदि प्रधानमन्त्रीसँग भेट हुन सकेन भने गोरले सरकारका वरिष्ठ मन्त्रीहरू तथा सम्बन्धित राजनीतिक नेताहरूसँग छलफल गरेर भ्रमण सम्पन्न गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.