
काठमाडौं । माैसम विभागका अनुसार देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना छ ।
बदलीसहित हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको हाे ।
जल तथा मौसम विज्ञान भिागका अनुसार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको थोरै स्थानमा मेघगर्जन/चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल अबको एक हप्ता हरेक दिनजसो वर्षाको सम्भावना रहेको बताउँछन् । ‘अबको आठ दिन हरेक दिन वर्षा हुने सम्भवना छ । केही ठाउँमा मेघगर्जन र भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ,’ उनलेे भनेका छन्, ‘वर्षा रोकिने संकेत देखिएको छैन ।’
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ ।



















