लालपुर्जा र नक्सापास भएको घरमा पनि डोजर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १२:१२

काठमाडौं । अनामनगरस्थित धोविखोला करिडोर क्षेत्रमा रहेको साततले भवनमा आइतबार डोजर चलाइएको छ । सरकारी जमिन अतिक्रमण भएको दाबी गर्दै सम्बन्धित निकायले संरचना भत्काएको हो ।

भत्काउनुअघि सुरक्षाकर्मीले घरभित्रका सामान बाहिर निकालेका थिए । त्यसपछि दुईवटा डोजर प्रयोग गरी भवन भत्काउने काम सुरु गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घरधनी इन्द्र चाम्लिङले भने आफ्नो जग्गा पूर्ण रूपमा कानुनी रहेको दाबी गरेका छन् । उक्त जग्गाको लालपुर्जा रहेको र काठमाडौं महानगरपालिकाबाट नक्सापास गरेर मात्रै घर निर्माण गरिएको उनले बताए । उनले आफ्ना कागजात घर बाहिर टाँसेरै विरोध जनाएका थिए ।

चाम्लिङले यसअघि अदालतले समेत उक्त जमिन सरकारी नभएको ठहर गरेको दाबी गरेका छन् । तर, त्यसको बाबजुद पनि डोजर चलाइएको भन्दै उनले आपत्ति जनाए ।

धोविखोला करिडोर क्षेत्रमा नदी किनार अतिक्रमण हटाउने अभियान जारी रहेको छ । तर, लालपुर्जा र नक्सापास भएका संरचनामा समेत डोजर चलाइएको घटनाले सरकारी निर्णयमाथि प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.