
काठमाडौं । काठमाडौंमा बागमती नदी र यसका सहायक खोलाहरूको किनारमा रहेका अव्यवस्थित तथा जोखिमयुक्त बस्ती हटाउने अभियान अन्तर्गत ठूलो संख्यामा सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन् ।
सरकारी तथ्यांकअनुसार हालसम्म १ हजार ८ सय १६ परिवारका ७ हजार ७ सय ८९ जना सुकुम्वासीहरू सम्पर्कमा आएका छन् । उनीहरुलाई व्यवस्थापन र स्थानान्तरण प्रक्रियामा ल्याइएको छ ।
सम्पर्कमा आएकामध्ये ७ सय ९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा बोडेस्थित कृषि तालिम केन्द्रलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ ।
दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा पुगेका केही सुकुम्वासीहरू प्रारम्भिक प्रक्रिया पूरा गरेपछि तत्कालका लागि आफ्नै पहलमा वैकल्पिक बसोबासको खोजी गर्दै बाहिरिएका छन् । सरकारले बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाएर सुरक्षित र व्यवस्थित आवास व्यवस्थापन गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
यस क्रममा सम्पर्कमा आएका सुकुम्वासीहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सरकारको दाबी छ ।



















