
काठमाडौं । देशभर आज (सोमबार) मौसम बदली रहने र विशेषगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रका साथै दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाको प्रभावका कारण देशभर मौसम प्रभावित बनेको हो । महाशाखाका अनुसार हाल मधेशसहित हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ भने तराईमा आंशिक बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले नै मेघगर्जनसहित वर्षा भइरहेको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ । केही ठाउँमा हिमपातसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
साथै, चट्याङ र हावाहुरीका कारण हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई महाशाखाले सुझाव दिएको छ ।



















