
विराटनगर । सर्वसाधारणलाई न्याय दिने उच्च अदालत विराटनगर आफैँ अतिक्रमणकारीको चपेटामा परेको छ । अदालतको स्वामित्वमा रहेको बहुमूल्य जग्गा वर्षौंदेखि अतिक्रमण भएको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ (साबिक कञ्चनबारी गाविस वडा नम्बर ३ ‘क’) मा रहेको कित्ता नम्बर ११२ को १ बिघा ८ कट्ठा १० धुर जग्गा अतिक्रमणमा परेको हो । अदालतको जग्गामा ४३ वटा कच्ची तथा पक्की घरटहरा निर्माण गरिएको छ ।
उच्च अदालत विराटनगरले उक्त जग्गा खाली गराई भोगचलन गर्ने वातावरण मिलाइदिन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरेको छ ।
अदालतका उप–रजिष्ट्रार सन्तोष पोखरेलका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छेउमा रहेको यो जग्गामा खाली गराउनका लागि पत्रचार गरिएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्णयअनुसार उक्त जग्गा नेपाल सरकारबाट उच्च अदालत विराटनगरलाई भोगाधिकारका लागि हस्तान्तरण गरिएको थियो । हस्तान्तरणको समयमा नहरको डिललाई बाटोका रूपमा प्रयोग गरी केही परिवारले सामान्य कच्ची संरचना बनाएका थिए । तर, पछिल्लो समय त्यहाँ अर्ध पक्की संरचना बनाएर स्थानीय बसोबास गरिरहेका छन् ।

























