
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनामा राख्ने निर्णयको प्रक्रियामै त्रुटि भएको ठहर गरेको हो ।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले अनुसन्धानका क्रममा नै धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राख्न अनुमति लिइएको भन्दै उक्त प्रक्रिया खारेज गरेको छ । अदालतले अब धरौटी वा जमानतमा रिहा गर्न नसकिने स्पष्ट आधार भएमा मात्रै थुनामा राख्न सकिने आदेश दिएको छ ।
गोल्छा गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको थियो ।



















