
काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै आएको बाढीका कारण बीपी राजमार्गको महत्त्वपूर्ण खण्डमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित कटुञ्जे–चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्ड सोमबार साँझ ५ बजेदेखि बन्द गरिएको हो । रोशी खोलामा पानीको सतह ह्वात्तै बढेपछि जोखिम बढेको भन्दै सवारी आवागमन बन्द गरिएको हो ।
डीएसपी रविन विष्टले सडकको अवस्था सुरक्षित नभएसम्म यात्रु तथा सवारी चालकलाई उक्त खण्ड प्रयोग नगर्न आग्रह गरेका छन् । यस क्षेत्रमा वर्षायाममा पटकपटक बाढीले अस्थायी डाइभर्सन बगाउने समस्या दोहोरिँदै आएको छ ।
यसअघि पनि वैशाख महिनामा आएको बाढीले सडक अवरुद्ध हुँदा दुई दिनपछि मात्रै यातायात सञ्चालनमा आएको थियो । गत वर्षको बाढीपहिरोले झण्डै १८ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि अहिले खोलामै डाइभर्सन बनाएर सवारी सञ्चालन गरिँदै आएको छ ।
राजमार्ग बन्द भएपछि धुलिखेल, काभ्रेभञ्ज्याङ, मंगलटार र नेपालथोक क्षेत्रमा सवारीसाधन ‘होल्ड’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । स्थायी समाधानको प्रयास जारी रहे पनि वर्षाका कारण जोखिम उच्च रहेको छ ।

























