
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायम रहेको छ ।
जसका कारण अधिकांश क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा आकाश सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका भू–भागमा आंशिक बदली देखिएको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ । अन्य प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य वर्षा हुने सम्भावना रहेको छ ।
राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । विशेषगरी कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ । महाशाखाले चट्याङ र वर्षाको जोखिमबाट सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।



















