अधिकांश सेवा स्थानीय तहबाटै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार ०६:५९

काठमाडौं । अब नापी र मालपोत कार्यालयबाट हुने अधिकांश सेवा स्थानीय तहबाटै प्रदान गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार दैनिक रूपमा हुँदै आएका करिब ९० प्रतिशत काम स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी छ ।

जग्गा पारित, लिखत दर्ता, अंशबन्डा, बैंक रोक्का तथा फुकुवा, नक्सा प्रिन्ट, कित्ताकाट र किनबेचसम्बन्धी अधिकांश सेवा अब गाउँपालिकादेखि महानगरपालिकासम्मबाटै उपलब्ध हुनेछन् । मन्त्रालयले सेवा सञ्चालनका लागि आह्वान गरेपछि २१४ स्थानीय तहले यसमा रुचि देखाएका छन् ।

Advertisement

मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार नयाँ स्वामित्व कायम गर्ने र छुट दर्ताजस्ता केही काम भने नापी र मालपोत कार्यालयमै रहनेछन् । अन्य स्वामित्व हस्तान्तरणसम्बन्धी काम स्थानीय तहले सम्हाल्नेछन् ।

सेवा प्रभावकारी बनाउन स्थानीय तहका कर्मचारीलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तालिम दिइनेछ । नापी विभागले तालिमका लागि पर्याप्त जनशक्ति रहेको जनाएको छ ।

चालु आर्थिक वर्षभित्रै सेवा स्थानीय तहमा पूर्ण रूपमा विस्तार गर्ने लक्ष्य मन्त्रालयको छ । स्थानीय तहका जनप्रतिनिधिले पनि यो कदमले सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.