
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भारत र चीनस्थित नेपाली दूतावासमा आफ्ना प्रतिनिधि राख्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ ।
सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्रले छिमेकी देशहरूसँग प्रत्यक्ष समन्वय प्रभावकारी बनाउन यस्तो प्रस्ताव अघि सारिएको जनाएको छ । पूर्वआईजीपी राजु अर्यालको कार्यकालमै तयार पारिएको प्रस्ताव हाल प्रक्रियामा रहे पनि कार्यान्वयन भने हुन बाँकी छ ।
सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार खुला सीमाका कारण उत्पन्न हुने समस्या, सीमापार अपराध र समन्वय अभावलाई ध्यानमा राख्दै दूतावासमा प्रतिनिधि राख्नुपर्ने आवश्यकता औंल्याइएको हो । हाल भारतस्थित नेपाली दूतावासमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि कार्यरत छन् ।
सशस्त्रको उपस्थिति थपिएमा भारतीय सशस्त्र सीमा बलसँग समन्वय सहज हुने विश्वास गरिएको छ । चीनतर्फ पनि सीमासम्बन्धी विषय, नाकामा हुने गतिविधि र सुरक्षा चुनौती व्यवस्थापनमा सहयोग पुग्ने तर्क सशस्त्रको छ ।
यससँगै सशस्त्रले सीमा व्यवस्थापन प्राधिकरण गठन र डिजिटल प्रविधिमार्फत सीमा निगरानी विस्तार गर्ने योजना पनि अघि बढाएको छ । नयाँ आईजीपी नारायणदत्त पौडेलले सीमामा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्ने नीति लागू गरिसकेका छन् ।

























