
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक बिहीबार बिहान कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
ब्याङ्डाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको इको होम कलेजको प्र १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बसमा चालकसहित पाँच जना सवार रहेका थिए ।
दुर्घटनामा सहचालकसहित चार जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई तत्कालै उपचारका लागि बिर्तासीटी अस्पताल, बिर्तामोड पठाइएको छ । घाइते हुनेहरूमा बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय सहचालक प्रकाश सिलवाल, शिवसताक्षी–८ का १८ वर्षीय इसान पकवाल, सोही स्थानका १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेट्वाल रहेका छन् ।
सबैको हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।



















