
काठमाडौं । सरकारले सरकारी कर्मचारीसँग आबद्ध १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारी र स्वास्थ्यकर्मीसँग सम्बन्धित विभिन्न संगठनहरू खारेज गरिएको जनाएको हो । विभागका अनुसार खारेजीमा परेका संगठनमध्ये आठवटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने चारवटा स्वास्थ्य क्षेत्रका छन् ।
सरकारले नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनको दर्ता खारेज गरेको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता पनि खारेज गरिएको विभागले जनाएको छ ।
सरकारको यो निर्णयसँगै सरकारी कर्मचारी संगठनहरूको वैधानिक हैसियत समाप्त भएको छ । कर्मचारी वृत्तमा यसको प्रभाव परेको छ ।



















