
विराटनठर । अचानक आगलागी हुँदा मोरङको पथरीशनिश्चरेमा पार्किङ गरेर राखिएको एक विद्युतिय (ईभी) कार पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो करिब १ः२० बजेतिर पथरीशनिश्चरे नगरपालिका–१ स्थित हरियाली सामुदायिक वन नजिक रहेको रिसोर्ट अगाडिको पार्किङ क्षेत्रमा राखिएको बा प्र ०१–०३० च ४४८३ नम्बरको डीवाईडी कम्पनीको ईभी कारमा अचानक आगलागी भएको हो ।
प्रहरीका अनुसार कारको ड्यासबोर्डबाट धुवाँ निस्किएपछि आगो फैलिएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
दमकलको सहयोगमा करिब १ घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।
घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



















