
काठमाडौं । काठमाडौंको थापाथली सुकुम्वासी बस्ती हटाइएपछि विस्थापित परिवारहरू यतिबेला सरकारले व्यवस्थापन गरेको होटलमा बसिरहेका छन् । तर, उनीहरूका लागि त्यो बसाइ राहतभन्दा बढी सकसपूर्ण बनेको छ ।
२० वर्षदेखि थापाथलीमा बस्दै आएकी सविना मल्ल अहिले बालाजुको एउटा होटलमा परिवारसहित बसिरहेकी छन् । एउटै सानो कोठामा श्रीमान–श्रीमती, दुई छोरी, एक छोरा र नातिसहित ६ जनाले दिन कटाउनुपर्दा आफूहरू ‘कैदीजस्तै’ बनेको उनको गुनासो छ ।
उनका अनुसार उमेर पुगेका छोराछोरीलाई एउटै खाटमा सुताउनुपर्ने अवस्था आएको छ । सानो बच्चाले खेल्ने ठाउँ नपाउँदा रुँदा समेत अर्को कोठाबाट गुनासो आउने गरेको उनले बताइन् । ‘बच्चाले खुलेर रुन पनि पाउँदैन । यस्तोभन्दा जेल नै ठीक हुन्थ्यो,’ उनले दुखेसो पोखिन् ।
रौतहटबाट रोजगारी खोज्दै काठमाडौं आएकी सविना किशोरावस्थामै गलैँचा उद्योगमा काम गर्थिन् । त्यही क्रममा विवाह भएपछि श्रीमानसँगै काठमाडौंमै बसोबास गर्दै आएकी थिइन् । आर्थिक अवस्था कमजोर भएकाले वर्षौंअघि थापाथली सुकुम्बासी बस्तीमा टहरा बनाएर बस्न थालेका उनीहरूको परिवार त्यहीँ हुर्किएको थियो ।
तर, बस्ती हटाइएपछि अहिले उनीहरू अनिश्चिततामा छन् । सुरुका केही दिन खाना र व्यवस्थापन राम्रो भए पनि अहिले बेवास्ता बढेको उनीहरूको आरोप छ । ‘बासी खाना र पिठो घोलेको दालसम्म खुवाइएको छ,’ सविनाले भनिन्, ‘होटलवालाले पनि हामीलाई मान्छेझैँ व्यवहार गरेका छैनन् ।’
उनले आफ्ना छोराछोरीको पढाइसमेत रोकिएको बताइन् । विद्यालय, किताब, ड्रेस र बसोबासको सुनिश्चितता नगरी बस्ती हटाइएको भन्दै उनले सरकारसँग प्रश्न गरिन्, ‘सुकुम्बासीका बच्चाले पढ्न नपर्ने हो ?’
सविनाका अनुसार बस्ती हटाउँदा सरकारले राम्रो व्यवस्थापन गर्ने आशा देखाएको थियो । खोलाछेउको जोखिमबाट जोगाउने भनिए पनि दीर्घकालीन बसोबासको कुनै योजना अहिलेसम्म नदेखिएको उनको भनाइ छ ।
होटलमा लामो समय बस्न नसकिने निष्कर्षपछि अहिले उनको परिवार काठमाडौंमै डेरा खोज्दै हिँडिरहेको छ । तर, परिवार ठूलो भएको भन्दै घरबेटीहरूले कोठा दिन नमानेको उनले बताइन् ।
‘यस्तो हुने थाहा भएको भए टहरामा डोजर चलाउन दिन्नथेँ,’ उनले भनिन्, ‘हामीले विश्वास गरेर ठाउँ छोड्यौँ । तर, अहिले उठिबास भएको महसुस भइरहेको छ ।’ सविनाको जस्तै पीडा अरु पनि सुकुम्वासीले भोगिरहेका छन् ।
अधिकांश सुकुम्वासीलाई खान र बस्नको समस्या छ । अनेक समस्यासँग जुधिरहेका सुकुम्वासी बिरामी पनि पर्न थालेका छन् । बस्तीमा डोजर चलाएर सरकारले आफूहरुको बिचल्ली बनाइदिएको गुनासो सुकुम्वासीहरुको छ ।



















