
विराटनगर । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोज शर्मालाई सिफारिस गरिएकोप्रति विरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सरकारमाथि न्यायपालिकाको वरिष्ठता प्रणाली तोडेको आरोप लगाएका हुन् । साम्पाङले ‘वरियताले चौथो भनिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण हो’ भन्दै टिप्पणी गरेका छन् । उनले अध्यादेशको औचित्य पुष्टि गर्ने काम यही निर्णयले गरेको दाबी गर्दै ‘चुपचाप घण्टी छापको करामत’ भएको आरोप पनि लगाएका छन् ।
संवैधानिक परिषद्ले बिहीबार सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई प्रधान न्यायाधीशका रूपमा सिफारिस गरेको थियो । उक्त निर्णयसँगै न्यायिक वृत्तमा वरिष्ठता परम्परा तोडिएको विषयले व्यापक बहस एवं विरोध सुरु भएको छ । कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै चौथो वरियताका शर्मालाई अघि सारिएको हो ।
उक्त निर्णयसँगै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार र संवैधानिक परिषद्को व्यापक आलोचना भइरहेको छ । जे काम र निर्णय गर्दा पनि विधि मिच्ने गरेको आरोप बालेनमाथि लाग्दै आएको छ । न्यायपालिकाको स्थापित परम्परा तोडिनु संस्थागत स्थायित्वका लागि राम्रो संकेत नभएको टिप्पणी भइरहेको छ ।
साम्पाङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ । अब शर्मा प्रधान न्यायाधीश बन्नलाई उनको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्छ ।


























