
काठमाडौं । देशका तीन प्रदेशमा आज (शनिबार) चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायमै छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
यी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै, बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । तराईका एक–दुई स्थानमा चट्याङसहित हल्का पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।
शनिबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने पूर्वानुमान छ । केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



















