बराहक्षेत्रमा दुर्घटना, चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार ०७:५०

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुने मिलिजुली स्कुलनजिक शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार प्र १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल बिहान ४ः३० बजेतिर कालाबन्जार–धरान सडक खण्डको कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ३० वर्षीय मनिष बस्नेतको मृत्यु भएको श्रेष्ठले बताए ।

Advertisement

उनका अनुसार मृतकको साथमा फेला परेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)का आधारमा पहिचान खुलेको हो । प्रहरीका अनुसार कल्भर्टमा ठोक्किएर मोटरसाइकल करिब ३० फिट पर पैनीको नालामा झरेको थियो ।

स्थानीयले ठूलो आवाज सुनेपछि दुर्घटना भएको आशंकामा तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी भरौलको टोली घटनास्थल पुग्दा मोटरसाइकल पानी बगिरहेको पैनीमा लडिरहेको र चालकलाई पैनीमा घोप्टो परेर मृत्यु भएको अवस्थामा फेला पारिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालकले अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.