
विराटनगर । भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ ।
सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ गरेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
अनुगमनका क्रममा उनले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येकले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्ने स्पष्ट निर्देशन दिएका हुन् । प्रशासनको यो कदमसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचयपत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन् ।
भारतीय भूमिबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले आधार कार्ड, नागरिकता वा अन्य मान्य परिचयपत्र देखाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार सीमा नाकामा बढ्दो आवागमन र अवैध कारोबारको जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाएको हो ।
विशेषगरी जोगवनी नाका हुँदै दैनिक सयौंको संख्यामा सर्वसाधारण किनमेल, रोजगारी तथा अन्य कामका लागि नेपाल–भारत ओहोरदोहोर गर्ने भएकाले कडाइ आवश्यक भएको प्रजिअ कटेलको भनाइ छ । जोगवनी नेपाली उपभोक्तामाझ सस्तो बजारका रूपमा परिचित छ ।
विराटनगर मात्र नभई इटहरी, तरहरा, धरान, पथरी, सुन्दरहरैँचा, उर्लाबारीलगायत आसपासका क्षेत्रका बासिन्दा दैनिक उपभोग्य सामग्री खरिदका लागि जोगवनी पुग्ने गरेका छन् । तर, यही ठूलो आवागमनलाई केही समूहले तस्करी तथा अवैध सामान ओसारपसारको महत्वपूर्ण अवसरका रूपमा लिने गरेको आरोप लाग्दै आएको छ ।
सुरक्षा निकायका अनुसार खुला सीमाका कारण अवैध आवतजावत तथा सामान ओसारपसारलाई पूर्ण रूपमा रोक्न चुनौतीपूर्ण छ । केही समयअघि प्रमुख जिल्ला अधिकारी कटेल स्वयंले सीमाक्षेत्रमा रहेका होटल तथा पसलहरूको अनुगमन गरेका थिए ।
सो क्रममा केही संरचनागत कमजोरी र सुरक्षामा जोखिम देखिएपछि उनले सीमा क्षेत्रमा रहेका खुला झ्याल तथा बाटोहरू बन्द गर्न निर्देशन दिएका थिए । सीमा क्षेत्रबाट भारततर्फ सजिलै आवतजावत हुने अवस्थाले सुरक्षा चुनौती बढाएको निष्कर्ष प्रशासनले निकालेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार पछिल्लो समय एउटै व्यक्ति दिनमै तीन–चार पटकसम्म सीमाबाट ओहोरदोहोर गर्ने प्रवृत्ति देखिएको छ । यस्तो गतिविधिलाई शंकास्पद मान्दै उनीहरूलाई विशेष निगरानीमा राखिएको छ । विशेषगरी उपभोक्ता सामान खरिदका नाममा ठूलो मात्रामा सामान ओसारपसार गर्ने सम्भावनालाई रोक्न कडाइ गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले भारतबाट रेल तथा सडकमार्ग हुँदै आउने यात्रुहरूको पनि चेकजाँच गरिरहेका छन् । ल्याइएका सामानहरूको विवरण संकलन गरेर आवश्यक परे भन्सार प्रक्रियामा लैजाने व्यवस्था मिलाइएको छ । अवैध रूपमा सामान ल्याउने गतिविधि रोक्न निगरानी थप कडा बनाइएको एसपी कटवालको भनाइ छ ।
जोगवनी नाका नेपाल–भारतबीचको सबैभन्दा व्यस्त व्यापारिक तथा आवागमन केन्द्रमध्ये एक हो । यहाँ दैनिक ठूलो संख्यामा आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । सीमा क्षेत्रमा देखा पर्ने अनेक समस्यालाई ध्यानमा राख्दै सुरक्षा सक्रियता बढाइएको हो ।
स्थानीय व्यवसायीहरूका अनुसार सीमा नाकामा कडाइ भए पनि उपभोक्तालाई भने केही असुविधा हुन सक्ने सम्भावना छ । तर, दीर्घकालीन रूपमा अवैध कारोबार नियन्त्रण गर्न र सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन यस्तो कदम आवश्यक रहेको उनीहरू स्वीकार गर्छन् ।
सुरक्षा निकायले सीमामा हुने गतिविधिलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नागरिक सहयोग अपरिहार्य रहेको बताएको छ । परिचयपत्र अनिवार्य गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइएपछि सीमाक्षेत्रमा अनुशासन कायम हुने अपेक्षा गरिएको एसपी कटवालको भनाइ छ ।



















