
काठमाडौं । भर्खरै श्रम संस्कृति पार्टी प्रवेश गरेका पूर्वमन्त्री सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले किरातीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै राय मागेका छन्।
अध्यक्ष साम्पाङले लेखेका छन्, ‘हाम्रो पार्टीबाट श्रमदाता सुदन किराती ज्युलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला? आफ्नो राय दिनुस् त!’ उनको यो प्रस्तावसँगै राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
किराती दुई दिनअघि मात्र औपचारिक रूपमा माओवादी केन्द्र त्यागेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। किरातीको प्रवेश लगत्तै अध्यक्ष साम्पाङले उनलाई प्रदेशको नेतृत्वदायी भूमिकामा उभ्याउने संकेत दिएका हुन्।
यसअघि सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहिसकेका किरातीको लोकप्रियतालाई पार्टीले कोशी प्रदेशमा उपयोग गर्न खोजेको देखिन्छ।

























